इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका वडा नं. –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन् । धिमालको अरनिको अस्पताल उर्लाबारीमा गुरुङको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । मोरङ पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राकेश यादवका अनुसार प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन् ।
पथरीशनिश्चरे –५ का वडाध्यक्ष चेतेन्द्र खड्काले दीपक र विष्णु नातेदार भएको बताउनुभयो । यस्तै, कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन् ।
उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएको छ ।