लमही नगरपालिका वडा नं. ३ बनगाउँस्थित हरियाली टोल निवासी ४० बर्षिय गणेश कुमालले घरमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक सहित गोली, बारुद र छर्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कुमालले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालको कमाण्डमा खटिइको प्रहरी टोलीले हातहतियार तथा खरखजाना फेला पारेको थियो ।
कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले चालु अवस्थामा रहेका दुई वटा र बेचालु अवस्थामा रहेको एउटा भरुवा बन्दुक बरामद गरेको छ ।
यस्तै भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाईप, बारुदको धुलो, १३५ थान छर्रा, केप १८ थान, रोल केप रोल ४ थान, ठुलो गोली २९ थान र भरुवा बन्दुकमा प्रयोग हुने सुतीको लत्ता दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।