![]() |
फाइल तस्विर |
पोखरा, पुस ४ गते । पोखरादेखि घान्द्रुकको लागि छुटेको स्कर्पियो दुर्घटनामा परेको छ । बिहीबार दिउसो पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६८२१ नं. को स्कारपियो गाडी पौने दुई बजेको समयमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.१० विकासे डाँडामा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गाडी रोकी चालकले बाटो हेर्ने क्रममा अचानक सडकबाट करिब ६०० मिटर तल खस्न गई भिरमा अड्किएको थियो ।
दुर्घटनामा पोखरा महानगरपालिका वडा नं. १६ दीप बस्ने वर्ष २० की रिहाना थकालीको शरीरको विभिन्न भागमा चोट लागेको छ । मुस्ताङ थासाङ गाउँपालिका वडा नं. १ टुकुचे बस्ने वर्ष ३१ की ज्योति खत्री थकालीको दायाँ साँप्रा र टाउकोमा चोट लागेको छ ।
बागलुङ गलकोट नगरपालिका वडा नं.१ झाँक्री स्थान बस्ने वर्ष ७६ की खिम कुमारी खत्रीको टाउको र बायाँ खुट्टामा चोट लागेको छ भने सोही स्थानकी ५२ वर्षीय नबिना खत्रीको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै मुस्ताङ थासाङ गा.पा.१ टुकुचे बस्ने वर्ष ७० की भीम कुमारी थकालीको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बागलुङ गलकोट न.पा.१ झाँक्री स्थान बस्ने वर्ष ४० की अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक स्याङ्जा भिरकोट न.पा.२ डाँडा कोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् ।