माघ २ गते । यति बेला पर्यटन राजधानी भनिएको पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिड फलको गेट बन्द छ ।
यसको सञ्चालन कसले गर्ने भन्ने विवाद भएपछि पोखरा महानगरपालिकाले मङ्गलवार यसलाई सिलबन्दी गरेसँगै यति बेला यहाँ हेर्न आउने पर्यटकसमेत फर्कने गरेका छन् । विवादले छाँगो बन्द हुँदा पर्यटक निराश भएका छन् । रुपन्देहीबाट पोखरा घुम्न आएका रोहित सिंह गेट बन्द भएकै कारण त्यहाँबाट छाँगो हेर्न नपाएको बताउँछन् । त्यस्तै झापाबाट सपरिवार लिएर पोखरा घुम्न आएका भारत निरौला पनि आज पातलो छाँगो गएको भए पनि गेट बन्द भएपछि छाँगो हेर्न उत्साहित आफ्ना छोराछोरी निराश भएर फर्किएको बताउँछन् ।
महानगर र छोरेपाटन मा वि को विवाद र असहमतिको मार यहाँ घुम्न आउने पर्यटकलाई प्रत्यक्षरुपमा परेको देखिन्छ । पर्यटनको राजधानी समेत घोषणा भइसकेको यो स्थानको आकर्षणको केन्द्रबिन्दुलाई बन्द नगरी सहमतिबाट समाधान गर्नतिर नगई दुवै पक्ष आफ्नै ढिपीले अगाडी बढ्दा छाँगो सञ्चालनमा केटाकेटीपन जस्तो देखिन गएको छ ।
महानगरले यसको सञ्चालन निजी कम्पनीलाई दिने निर्णयको विरुद्धमा छोरेपाटन मा वि उभिँदै आएको थियो । विद्यालयसँग सहमति जुटाउन नसकेपछि महानगरले दलबलका साथ गेटमा ताल्चा लगाइदिएको हो ।
तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हक भोग गर्न दिएपछि २०३४ चैत ३१ देखि यसको सञ्चालन छोरेपाटन माविले गर्दै आएको थियो । अहिले छाँगो वरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।
प्रवेश टिकटबाट वर्षमा तीन करोड हाराहारी सङ्कलन हुने गरेको छ ।