काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ तौलुङस्थित एक भाडाको घरमा अनलाइन ग्याम्बलिङ वेबसाइटको प्रयोग गरी सट्टाबाजी खेलाउने गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो।
२०८१ साल फागुन ५ गते साँझ ६:०० बजे प्रहरीको टोलीले उक्त स्थानमा छापा मार्दा ४ जना भारतीय नागरिकलाई सट्टाबाजी खेलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले २ अर्ब भन्दा बढी रकम बराबरको कारोबार गर्दै आएको देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमा एम.डी. आरिफ हुसेन (२२ वर्ष, गोरखपुर, उत्तर प्रदेश), अब्दुल कलाम (४२ वर्ष, फतेहपुर, उत्तर प्रदेश), अजमेग मर्डेसिया (२५ वर्ष, गोरखपुर, उत्तर प्रदेश) र इरफान पठान (४० वर्ष, फतेहपुर, उत्तर प्रदेश) रहेका छन्।
प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका १२ वटा ल्यापटप, १२ वटा मोबाइल, कारोबारको हिसाब राख्न प्रयोग गरिएका ७ वटा क्याल्कुलेटर, हिसाब किताब उल्लेख गरिएको १३३ वटा लुज पाना र ३ वटा डायरी समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीका अनुसार, पक्राउ परेकाहरूले नेपालमा ठूलो रकम बराबरको अवैध सट्टाबाजी कारोबार सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी सूचना अधिकारी प्रहरी उपरीक्षक अपील रान बोहराले दिएका छन्।