सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको शनिवार देहावसान भएको छ । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन ।
मलामी जाने मानिस नभेटिँदा शव वाहन वा ट्याक्टरका लागि कुरा गरे पनि शनिबार रातिसम्म पनि टुङ्गो नलागेको मृतकका कुरुवा छोरा ३० वर्षीय प्रकाश टेलरले बताउनुभयो । प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकसमेत हुनुहुन्छ ।
आमाको मृत्यु हुँदा मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर आँगनमा बस्नु परेको प्रकाशले पीडा सुनाउनुभयो । भक्कानिँदै उहाँले भन्नुभयो,“मलामी जाने मानिस भइदिए घरबाट आघा घण्टाको दूरीमा ढणालीगाड पर्छ । त्यतै दाहसंस्कार गर्न सकिन्थ्यो । तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा एक्लो अनुभूति भएको छ ।”
प्रकाशका ७२ वर्षीय रोगी बुवा श्रीमतीको मृत्युपछि ओछ्यानमा थला पर्नुभएको छ । सामान्य ज्याला मजदुरी र खलो (बालीघरे) मा काम गरेर जीविका चलाउँदै आएका टेलर परिवार गाउँकै एक मात्र दमाई परिवार हुनुहुन्छ ।
मलामी जाने मानिस नभएपछि आफ्नो पुख्र्यौली थातथलो पाटन नगरपालिका–४, बगाडी गाउँका नातेदारलाई शव वाहन वा ट्याक्टरको व्यवस्था गरिदिन टेलिफोन गरेको प्रकाशले बताउनुभयो ।
मलामी जाने मानिस नभएकाले गाडीको व्यवस्था गरिदिन वडा कार्यालयमा पनि फोन आएको सिगास गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले, शव वाहन वा ट्याक्टरका लागि नजिकको छिमेकी पाटन नगरपालिकासित कुरा भइरहेको बताउनुभयो । सवारी जिपले शव बोक्न नमानेका कारणले समस्या भइरहेको उहाँले बताउनुभयो ।
दमाई जातीको शव बोकेर मलामी जान सोही अन्य दलित जातीका मानिस तयार नभएपछि गाडीका लागि पाटन नगरपालिकामा टेलिफोन आएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।