![]() |
गोरखापत्र |
बिहान ८ बजे नै खाना खाएर हतारहतार घरबाट निस्केर व्यास नगरपालिका–उत्तरशिला लाइन, दमौलीमा घर निर्माण कामका लागि बिहान ९ बजेदेखि उहाँ इँटा बोक्ने काममा जानुभयाे ।
आज अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा विकले जवाफ दिनुभयो, "दिवस कहिले पर्छ, किन मनाइन्छ थाहा छैन काम नगरीखान पुग्दैन ।" विकसँगै काम गरिरहनुभएकी व्यास नगरपालिका–१ भादगाउँकी सुस्मा गुरुङले पनि नारी दिवसबारे सुन्नु भएको छैन । गुरुङले भन्नुभयो, ‘‘नारी दिवसको बारेमा हामीलाई थाहा छैन।" काम गरे बापत दैनिक छ सय रुपियाँ ठेकेदारबाट पाउने गरेको उहाँहरू बताउनुहुन्छ ।
यस्तै, अझै पनि ज्यालामा विभेद हुने गरेको उहाँहरूको गुनासो छ । पुरुष सरह नै दिनभर काम गरे पनि ज्याला समान नभएको गुरुङ बताउनुहुन्छ । गुरुङ भन्नुहुन्छ, "पुरुष यही काम गर्दा एक हजार पाउँछन् हामीलाई छ सय रुपियाँ मात्रै दिन्छन् ।" पुरुष सरह काम गरे पनि कामको मूल्याङकन नभएको गुरुङ बताउनुहुन्छ । गुरुङले भन्नुभयो, "थोरै आम्दानी हुने भएकोले भाडाको घरमा बस्नु परेको छ, केटाकेटी पढाउन, खानका लागि धौँ धौँ परेको छ ।"
सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ, निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश महिला नारी दिवस कहाँ कसरी मनाइँदै छ भनेर अविज्ञता प्रकट गर्छन् ।
दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने अधिकांश महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नै छैन । दिवसका दिन दमौलीमा भेटिएका धेरै महिला श्रमिकले दिवस नमाउने र दिवसका बारेमा चासो नै नभएको बताएका छन् । व्यास नगरपालिका–३ निमचोका घर निर्माणका लागि बालुवा गिट्टी घोल्दै गर्नु भएकी ऋषिङ गाउँपालिका १ की दिलमाया थापा मगरलाई पनि नारी दिवसले छुन सकेन् ।
अरु दिन जस्तै मगर शनिबार बिहानैदेखि नै घरको गारो लगाउनका लागि बालुवा र सिमेन्ट घोल्ने काम गर्नुभयो । मगरले भन्नुभयो, "निर्माण क्षेत्रमा काम गरेको दस वर्षभन्दा धेरै भयो अहिलेसम्म दिवस मनाएको छैन, कसैले मनाउनु पर्छ भनेर भनेको पनि छैन ।" उहाँसँगै काम गर्ने दिलमाया आले दिवसका बारेमा सुने पनि मनाउन चाहि नमनाएको बताउनुभयो । आलेले भन्नुभयो, "काम नगरी खान पुग्दैन, दिवसको मलाई कुनै अर्थ छैन ।"
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले चेतनाको कमीले गर्दा दिवसको दिनमा महिला काम गर्न बाध्य भएको बताउनुभयो । घर्तिले भन्नुभयो, "ठेकेदारले बिदा दिनुपर्थ्याे तर दिवस प्रति गम्भीर भएनन् । वर्षमा एक पटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने घर्तिको भनाइ छ । उहाँले दीर्घकालीन सोचका साथ नीतिगतरूपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने बताउनुभयो । ज्यालमा विभेद हुने गरेको घर्ति बताउनुहुन्छ ।
घर्तिले भन्नुभयो, "समान कामका लागि समान ज्याला हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएका छौं तर सुनुवाई हुँदैन ।" पढेलेखेका जागिर खाएकालाई दिवसले अर्थ दिए पनि वास्तविक सामान्य पढेका तथा अशिक्षित महिलाहरू अझै पनि दिवसको अर्थ, महत्त्व र कार्यक्रमभन्दा बाहिर रहेको घर्ति बताउनुहुन्छ । अमरराज नहर्कीले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।