Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विदेशमा हराएको छोरो फर्किने आशामा ८५ वर्षीय आमा - Brighter Network

 

फोटो : गोरखापत्र 

चैत्र ६ गते । “मेरो हृदय भन्छ, एक दिन मेरो छोरा फर्किन्छ,” उमेरले ८५ वर्ष पुगिसकेकी बर्दिबास नगरपालिका–३, पाटु की एक आमा दुर्गा कुमारीलाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउँदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’


२२ वर्ष अघि २०५९ साल जेठ २० गते दाजु गोविन्द कार्कीलाई भेट्न भनेर निस्केका कान्छो छोरा रामबाबु कार्की त्यस पछि अहिले सम्म घर फर्किएका छैनन् ।


युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकुबिच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार रेडियोबाट सुनेकी थिइन् ।२०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।


केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका रामबाबु समाचार सकिएपछि नजिकै आएर भने, ‘आमा, म ठुलादाजुलाई भेट्न लमजुङ जान्छु ।’


रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा युद्धकालीन अवस्थामा लक्का जवान २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराले जिद्दी गर्न थाले पछि आमा दुर्गाले भारी मन बनाउँदै पठाउन बाध्य हुनु भयो।


’प्रतिकूल अवस्थामा दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए ।’ आमा दुर्गा कुमारीले भन्नुभयो ।


रामबाबुका बाबु डम्बरबहादुरलाई पनि श्रीमतीले  भनेजस्तै छोरा जिउँदै छ भन्ने आस रहेको बताउनुहुन्छ।उहाँले भन्नुभयो, ’मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’


रामबाबु तीन दाजुभाइमा कान्छो हो । माइला दाजु मोहन कार्की रिटायर नेपाल आर्मी हुनुहुन्छ भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर कर्मचारी हुनुहुन्छ ।दुवै दाजुहरूको जागिरे भएको हुँदा रामबाबुलाई पढाइमा खासै समस्या थिएन । उनी काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययनरत थिए।


आमा दुर्गा कुमारी भन्नुहुन्छ, ’कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् ।तर मनले मानेको छैन’


लमजुङमा अझ सरकारी र विद्रोही पक्षबिच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशङ्का गर्छन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ ।


दुर्गाकुमारी भन्नुहुन्छ, ’सरकारले पनि छोराको खोजी गरिदेओस् , ‘कि सास, कि लासको यकिन गर्दिनुपर्‍यो नि !,’


छोरा फर्किने आस अझ जीवित नै रहेकोले अंशबन्डा समेत नगरेको बताउनु हुँदै उहाँले भन्नुभयो, ’भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट यकिन जानकारी पाएनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे÷बाँचेको टुङ्गो त लाग्नुपर्‍यो नि !’


अहिले दुर्गाकुमारीलाई  हिँडडुल गर्न समेत गाह्रो हुन्छ लौराको सहाराले यताउता हिँडडुल गर्नुहुन्छ । उहाँ मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउनुहुन्छ र पति–पत्नी मिलेर खानुहुन्छ । उहाँले छोरो फर्किने आसले ऊर्जा आउने गरेको बताउनुहुन्छ।


रामबाबुका बाबु डम्बरबहादुरले भन्नुभयो, ’कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर  आउँछ कि।’ दुर्गाकुमारीले पनि ‘अब तपाईँहरूले समाचार छापी दिएपछि, कहीँ कतैबाट समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’


सङ्क्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।


आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।


मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।


तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिना भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।गोरखापत्र 

Top Post Ad

post bottom ads

Ads Bottom