फाल्गुन १७, बाँकेको राप्तीसोनारी–७ वसन्तपुरमा विवाहको तयारी चलिरहेका बेला शुक्रबार साँझ भएको सडक दुर्घटनाले खुशियाली शोकमा परिणत गरेको छ। अर्जुन पासीको विवाहका लागि घरमा एक सातादेखि नाचगानसहित विभिन्न कार्यक्रम भइरहेको थियो। शनिबार जन्ती भारत जान तयारी भइरहेको अवस्थामा शुक्रबार साँझ करिब ७ बजेतिर भएको दुर्घटनाले सम्पूर्ण माहोल पीडामा बदलिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, विवाहको तयारीका लागि सामान किन्न गएका २५ वर्षीय अर्जुन पासीले चलाएको नम्बर प्लेट नभएको १२५ सिसीको कालो पल्सर मोटरसाइकललाई राप्तीसोनारी–७ भेलुनियामा विपरित दिशाबाट आएको नम्बर प्लेट मेटिएको ट्याक्टरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पासीलाई प्रहरीको सहयोगमा तत्काल नेपालगन्जस्थित भेरी अस्पताल पुर्याइए पनि उपचारका क्रममा राति साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टर मालिक सम्पर्कमा आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।