लमजुङ, वैशाख १। लमजुङको दोर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। दोर्दी गाउँपालिका–४ नौथरसेरा निवासी रश्मी तामाङको सोमबार बिहान दोर्दी खोलामा डुबेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख रेशम बोहोराका अनुसार बालिका बिहान ९ बजेतिर स्थानीय दोर्दी खोलामा पौडी खेल्न गएकी थिइन्। पौडी खेल्दाखेल्दै डुबेर अचेत भएकी तामाङलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेसीसहर पुर्याइएको थियो।
तर, अस्पतालका चिकित्सकले बिहान ११:४० बजे तामाङलाई मृत घोषणा गरेका थिए। बालिकासँगै खोलामा गएका दुई साथीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।