जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गङ्गा बहादुर सारूका अनुसार प्रारम्भिक रुपमा ३६ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
सबैभन्दा बढी क्षति धुर्कोट गाउँपालिकाका विभिन्न वडामा देखिएको छ। वडानम्बर ३ मा कृष्ण विष्ट र देवकला महतको घर, वडानम्बर ४ मा पूर्ण प्रसाद पाध्याको घर र अरुण गैरेको होटल, तथा वडानम्बर ५ मा इश्वर सुनार, गिर बहादुर पुन मगर, गोरे बहादुर सार्की, तुल्सा भण्डारी, तेज बहादुर घर्ति र फर्सुराम पचभैया मगरको घरमा हावाले छाना उडाएर क्षति पुर्याएको छ।
त्यस्तै, मालिका गाउँपालिका–४ अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिम बहादुर घर्ति, थमने कामी र सिता अर्यालको घर पनि प्रभावित बनेको छ। मालिका–२ का रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फुलमाया विकको घरमा पनि यस्तै क्षति भएको छ।
अर्खाबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, पुस्तकालय र शौचालयको छाना हावाले उडाएको छ। अर्खाबाङ्ग कृषि तथा महिला सहकारीको भवन समेत क्षतिग्रस्त बनेको छ। कालिगण्डकी गाउँपालिका–३ का रुक बहादुर श्रीस, सन्तकली राना र लालबिर रानाको घर पनि हावाहुरीको मारमा पर्यो।
पीडित परिवारहरू रातको समयमा घरको छाना उड्दा अत्यन्तै बिचल्लीमा परेका छन्। मालिका–४ का पीडित सुरेश अर्यालले हावाहुरीको त्रासका बीच ज्यान जोगाउन मुस्किल परेको बताए।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पालिकाहरूलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको र आधिकारिक विवरण प्राप्त भएपछि राहतका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरिने जानकारी दिनुभयो। हाल जिल्ला प्रशासनसँग छुट्टै राहत कोष नरहेकाले पालिकामार्फत पीडितलाई सहजीकरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।