Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिलालाई मुम्बई पुर्‍याएर ८० हजारमा बेचेका एक पुरुष तिस वर्षपछि पक्राउ - Brighter Network


वैशाख १२ — ३० वर्षअघि भारतको मुम्बईमा नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा फरार रहेका एक व्यक्ति अन्ततः पक्राउ परेका छन्।


पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला भोटेनाम्लाङ गाविस–४ (हाल पाँचपोखरी थाङपाल गाउँपालिका–७), खोङ्गेका ५७ वर्षीय चमार तामाङ उर्फ चमारे तामाङ रहेको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ। ब्युरोको टोलीले उनलाई बिहीबार घरमैबाट पक्राउ गरेको हो।


प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, तामाङले २०४४ साल पुस १९ गते एक नेपाली महिलालाई काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्‍याई जबर्जस्ती कोठीमा बिक्री गरेका थिए। उक्त महिलालाई मुम्बईस्थित कोठी नम्बर ७ मा, त्यहाँकी नेपाली सञ्चालिका रिता तामाङलाई रु. ८० हजारमा बेचिएको थियो।


प्रवक्ता कुँवरका अनुसार पीडित महिला चाबहिलस्थित गलैंचा कारखानामा कार्यरत थिइन्। तामाङले ‘हङकङ गएर सुनको व्यापार गरौं, यस्तो कामले टिबी लाग्छ’ भनी बहकाएर उनलाई मुम्बई पुर्‍याएका थिए।


उक्त कोठीमा पीडित महिलालाई सात वर्षसम्म वेश्यावृत्तिमा संलग्न गराइएको थियो। त्यही क्रममा उनलाई टिबी रोग लागेपछि साहुनीले २०५१ साल माघमा नेपाल फर्काइन्। नेपाल फर्केपछि पीडितले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।


यस घटनाको अनुसन्धान क्रमशः जिल्ला प्रहरी परिसर काठमाडौं हुँदै २०७७ असोज ६ गते मानव बेचबिखन ब्युरोमा पुगेको थियो। लामो समय फरार रहेका तामाङलाई अन्ततः प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom