संखुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जीप अरुण नदीमा खस्दा चालकसहित तीन जना गम्भीर घाइते भएका छन्।
दिउँसो करिब २ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र चैनपुर नगरपालिका–११ का ६६ वर्षीय पैदलयात्री ढोकरबहादुर पाण्डे गम्भीर घाइते भएका छन्।
घाइते सबै जनाको उद्धार गरी मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।
प्रहरीका अनुसार बोलेरो जीपले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सिधै अरुण नदीमा खसेको हो। दुर्घटनामा परेका जीप अझै नदीमा डुबेको र निकाल्न कठिन भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। अहिले जीप निकाल्ने प्रयास भइरहेको छ।