Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु: भक्तपुर शोकमग्न - Brighter Network


भक्तपुर,  ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्का जात्राको उल्लासबीच भक्तपुरमा दुखद घटना घटेको छ। भेलुखेलस्थित योसिंखेलमा रथ तान्ने क्रममा रथले किच्दा एक जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४ का स्थायी बासिन्दा तथा हाल सूर्यविनायक नगरपालिका–८, सिपाडोल इटबूमा बसोबास गर्दै आएका ३६ वर्षीय सुशिल तमखू रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

घटना बिस्का जात्राको चौथो दिन आइतबार भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाँदै गर्दा भएको हो। ५५ हात लामो लिङ्गो ठड्याउन रथलाई तान्ने क्रममा जीउको बीच भागमा रथको पांग्रा किचिएर तमखूको घटनास्थलमै मृत्यु भएको प्रहरी रिपोर्टमा उल्लेख छ।

बिस्का जात्रा भक्तपुरको परम्परागत संस्कृति, सामूहिक सहभागिता र ऐतिहासिकताको प्रतीक हो। तर यस वर्षको जात्रामा यस्तो मृत्युदायक दुर्घटनाले जनमानसमा शोक र पीडा थपेको छ।

स्थानीय बासिन्दा र जात्रामा सहभागी जनसमुदायले सुरक्षा व्यवस्था र भीड व्यवस्थापनमा कमजोरी भएको आरोप समेत लगाएका छन्।

हरेक वर्ष ठूला जनसमूहबीच संचालन हुने जात्रामा पर्याप्त सुरक्षा र सुसंगठित व्यवस्थापन आवश्यक हुन्छ। रथ तान्दा आउने उछाल, भीडको चाप र अनियन्त्रित अवस्थालाई नियन्त्रणमा लिन सकेको भए यस्ता दुर्घटना टार्न सकिन्थ्यो, स्थानीयले बताए।

Top Post Ad

post bottom ads

 


Ads Bottom