बर्दिया, चैत २४ — बर्दियाको गुलरिया नगरपालिका–५, बालापुरकी ५० वर्षीया गोवरी थरुनीले असाधारण साहस देखाउँदै चितुवाको मुखबाट आफ्ना सात वर्षीय नाति सिर्जन चौधरीलाई सकुशल बचाएकी छन्।
चैत २० गते बुधबार गोवरी बिहानैदेखि घर नजिकैको केराबारीमा मास (थारू भाषामा उरुद) मा पानी सिँचाइ गर्दै थिइन्। दिउँसो करिब १ बजे उनका नाति सिर्जन साथी अर्पण थारूसँग हजुरआमालाई खाना दिन खेततर्फ हिँडे। खेतनजिकैको रसीको खटियामा सिर्जन खेलिरहेका थिए, भने गोवरी सिँचाइमा व्यस्त थिइन्।
एक्कासि “बुदी” भन्दै चिच्याएको सिर्जनको स्वरले गोवरीको ध्यान तान्यो। झट्ट हेर्दा नाति कहाँ छन् भनेर खोज्दा उनी देखिएनन्। त्यतिबेला सिर्जनसँगै आएका साथीले चितुवाले लगेको जानकारी दिए। हडबडाउँदै मकैबारीतर्फ दौडिएर जाँदा, गोवरीले देखिन्—चितुवाले सिर्जनलाई गर्धन समातेर तानिरहेको थियो।
सम्झनामा केही पनि नआएको बताउने गोवरीले तत्काल नातिको खुट्टा समातेर तान्न थालिन्। करिब एक मिनेटजति चितुवा र गोवरीबीच तानातान भयो। अन्ततः नछोड्ने हजुरआमाको साहस देखेर चितुवा डराएर भाग्यो। चितुवाको आक्रमणबाट चाँडै नातिलाई छुटाउन नसकिएको भए, परिणाम गम्भीर हुन सक्थ्यो।
“दिमाग शून्य भयो, केही सोच्न सकिनँ, तर केही भए पनि नातिलाई बचाउने मनसायले खुट्टा समाएर तानेँ,” गोवरीले भनिन्।
घटनापछि गम्भीर घाइते भएका सिर्जनको नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रियापछि उपचार भइरहेको छ। अर्कातर्फ, ज्यानको बाजी लगाएर नातिको रक्षा गर्ने वीरता देखाएको भन्दै गुलरिया नगरपालिका–५ ले गोवरी थरुनीलाई नगद पाँच हजारसहित सार्वजनिकरूपमा सम्मान गरेको छ।
वडाध्यक्ष मुमबहादुर मल्लले भने, “गोवरी थरुनीको साहस अद्वितीय छ। यस्तो उदाहरणीय कामको प्रशंसा नगरिकन बस्न सकिन्न।”