चैत ३१ — प्री मनसुन सक्रिय भएसँगै देशभर चट्याङको जोखिम तीव्र बनेको छ। पछिल्लो तीन दिनमै ८ जनाको मृत्यु तथा २८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार, चालु वर्षको वैशाखदेखि चैत २८ गतेसम्म चट्याङका कारण ७८ जनाले ज्यान गुमाएका छन् भने ३०९ जना घाइते भएका छन्। ५५६ घरपरिवार प्रभावित भएका छन् भने करीब १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रवक्ता केसीले चट्याङबाट जनधनको क्षति न्यूनीकरण गर्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सचेतना अभिवृद्धि अभियान चलाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार चट्याङको जोखिमबाट समयमै सावधानी अपनाउन “सतर्क” नामक पूर्वसूचना प्रणाली पनि सञ्चालनमा ल्याइएको छ।
मौसमविद् प्रतिभा मानन्धरले प्री मनसुनको समयमा वायुमण्डलीय उतारचढावका कारण चट्याङको सम्भावना उच्च हुने बताउँदै वर्षाको सम्भावना रहेमा खुला स्थानमा ननिस्किन सुझाव दिनुभयो।
उहाँका अनुसार चट्याङ परेका बेला:
घरभित्रै सुरक्षित रहनु
मोबाइल, टिभी, इन्टरनेट, बत्ती जस्ता विद्युतीय उपकरण बन्द गर्नु
झ्याल ढोका बन्द गर्नु र बाहिर नहेर्नु
बाहिर भए गाडीमै बसिरहनु
रुख वा बिजुलीका पोल मुनि नबस्नु
खेतबारीको काम तत्काल रोकिनु
भनेका छन्।
प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटान लगायतका देशहरूमा चट्याङको जोखिम विशेष रूपले देखिने गरिएको छ। भारतमा केही दिनअघि मात्रै ६० जनाको चट्याङबाट मृत्यु भएको थियो।