सुनसरी जिल्लाको इटहरीमा गएराति भएको एक कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११ बजे तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक किनारको जामुनको रूखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा परेका इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउत गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर उपचारका क्रममा राउतको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो।
दुर्घटनाको समयमा कारमा चार जना सवार थिए। कार चालक रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत, र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। उनीहरूको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, कार धरानबाट इटहरीतर्फ आउँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा प्रयोग भएको प्र–०१–०३० च ४६१८ नम्बरको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।