चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनको अनुमति लिई आयोजना गरिएको विरोध कार्यक्रममा सहभागीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा, लाठी, फलामका रड तथा घरेलु हतियारसहित आक्रमण गरेका थिए। त्यसक्रममा संघीय संसद् भवन वरिपरि रहेको निषेधित क्षेत्र तोडफोड गरिएको थियो भने सुरक्षाकर्मीमाथि प्राणघातक आक्रमण गरिएको प्रहरीले जनाएको छ।
प्रदर्शनकै क्रममा सुरक्षाकर्मीको हातहतियार खोस्ने, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने, संवेदनशील संरचनामा प्रवेश गरी लुटपाट तथा आतङ्क सिर्जना गर्ने कार्यहरू भएको विवरणमा उल्लेख छ। प्रहरीका अनुसार पूर्व योजना अनुसार संगठित रुपमा गरिएको सो घटनामा संलग्न भएको आरोपमा देशका विभिन्न ठाउँका ६ जना युवा पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तिहरूमा ललितपुर टिकाथली बसोबास गर्दै आएका सर्लाही कबिलासीका २२ वर्षीय अमित शाह, काठमाडौं महानगरपालिका–३१ बस्ने धरानका १९ वर्षीय सुमन कार्की, बर्दिया बारबर्दिया नगरपालिका–२ का ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्धलेक गाउँपालिका–४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१५ की ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ३० वर्षीय कुमार तामाङ रहेका छन्।
उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।