टटेरामकी श्रीमती रामदुलारी थारू रुँदै भनिन्, "आइहाल्नुहुन्छ कि भनेर यतिका वर्ष कुर्यौं, तर अन्त्यमा आफ्नै मान्छेलाई कुशको शव बनाएर बिदाइ गर्नुपर्यो। अब त आस पनि मरेर गयो।"
२०५९ सालमा बारबर्दिया नगरपालिका-७, सोनपुरका टटेराम थारूलाई तत्कालीन शाही नेपाली सेनाले राति ३ बजे घरबाट लगेको थियो। "तीन घण्टामा फर्काइदिन्छौं" भन्ने आश्वासन दिएर लगेका टटेराम कहिल्यै फर्किएनन्। परिवारले सरकारबाट कुनै जानकारी आउला कि भनेर २२ वर्ष पर्खिए। तर, बेपत्ताको अवस्था अझै अज्ञात रहेपछि बाध्य भएर काजकिरिया गर्ने निर्णय गरे।
त्यही गाउँकै अर्की बेपत्ता व्यक्तिको श्रीमती फिरिया थारूले पनि कुशको शव बनाएर गत शनिबार काजकिरिया गरिन्। उनले भनिन्, "अब त श्रीमान्को काजकिरिया नगरी मर्छु कि जस्तो लाग्न थाल्यो। छोराहरू छुट्टिए, बुवाको सम्पत्ति नामसारी गर्न पनि मिलेन। अब मृत्युदर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउँछु।"
२०५९ साउन २४ र २६ गते बर्दियाको रम्भापुर ब्यारेकबाट आएको सेनाको टोलीले सोनपुर गाउँबाट कुल छ जनालाई घरबाटै उठाएर लगेको थियो। परिवारले लामो समय सेनाको ब्यारेकमा गएर आफ्ना आफन्तको खोजी गरे, तर उनीहरूलाई कहिल्यै फर्काइएन। २२ वर्षसम्म कुनै खबर नआएपछि छ जनामध्ये तीन जनाको परिवारले कुशको शव बनाई अन्त्येष्टि गरिसकेको छ।
द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीका अनुसार जिल्लामा हालसम्म कम्तीमा ४० जना बेपत्ताका परिवारले काजकिरिया गरिसकेका छन्। उनले भने, "सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा परिवारहरू सामाजिक र सांस्कृतिक समस्यामा परिरहेका छन्। कानुनी रूपमा सम्पत्ति नामसारी गर्न नपाउँदा बाध्य भएर मृत्युदर्ता गराउने निर्णय गरेका छन्।"
सशस्त्र द्वन्द्वको समयमा नेपालमै सबैभन्दा धेरै बेपत्ता पारिएको जिल्ला बर्दिया हो। बेपत्ता आयोगका अनुसार मात्र बर्दियामै २५० जना बेपत्ता पारिएका छन्। विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता गरिएको थियो, तर १८ वर्ष बितिसक्दा पनि सो वाचा पूरा हुन सकेको छैन। यज्ञप्रसाद सापकोटाले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।