निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत सेतीदेवी सामुदायिक वन नजिकैको शरनपुर पोस्टमा कार्यरत २२ वर्षीय दासको आफ्नै कार्यालयमा शुक्रबार बिहान गोली लागेर निधन भएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले जवान दासलाई असावधानीपूर्वक बन्दुक चलाउँदा गोली लागेर मृत्यु भएको पुष्टि गर्नुभयो। “बिहानको गस्तीपछि बन्दुक व्यवस्थापन गर्ने क्रममा गोली चलेको हो,” उहाँले भन्नुभयो।
गोली लाग्नेबित्तिकै गम्भीर घाइते अवस्थामा रहेका दासलाई चितवन मेडिकल कलेज ल्याइएको थियो। तर, उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गोली दाहिने तिघ्रामा लागेको थियो।
दासको शव चितवन मेडिकल कलेजको शवगृहमा राखिएको छ। शनिबार उनका परिवारलाई शव बुझाइने र त्यसपछि दाहसंस्कार गरिने बताइएको छ। मृतक दास पर्सा जिल्लाका बासिन्दा हुन्।