टिन क्वाङ रोड रिक्रिएसन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी इनिङ्समा नेपालले १७ ओभरमै दुई विकेट गुमाउँदै लक्ष्य सहज रूपमा पूरा गर्यो।
नेपालको विजयी इनिङ्समा ओपनर कुशल भुर्तेलले आक्रामक खेल प्रदर्शन गर्दै १९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए। यसैगरी, आसिफ शेखले ३३ रन र बसिर अहमदले ३० रन बनाए। नेपालले अतिरिक्त १६ रन पनि प्राप्त गर्यो। कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट लिए।
यसअघि, कतारका कप्तान इक्रामुल्लाह खानले संयमित ब्याटिङ गर्दै ५४ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए। शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रनको योगदान दिए। अतिरिक्त पाँच रन प्राप्त गरेको कतारले १५१ रनको योगफल तयार पारेको थियो।
नेपालका बलरमध्ये करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजवंशीले समान रूपमा एक–एक विकेट लिएका थिए।
चारदेशीय सिरिजमा नेपालको यो पहिलो खेलमै शानदार जितले प्रतियोगितामा सशक्त सुरुवात गरेको छ।