काठमाडौं, वैशाख ८ — सर्वसाधारणलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटनामा संलग्न ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तबाट हटाई कार्यालयमा बोलाइएको हो। उनीहरूलाई हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखी थप छानबिन तथा अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रवक्ता गिरीले जानकारी दिनुभयो।
प्राप्त विवरण अनुसार, कुटपिटको घटना गत मंसिर ११ गते काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि घटेको हो। भिडियोमा ट्राफिक प्रहरी एक जना व्यक्तिलाई बुटले अनुहारमा हान्दै कागजात फालेर दुर्व्यवहार गर्दै गरेको दृश्य देखिन्छ।
उक्त भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्राफिक प्रहरीको अमानवीय व्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेका थिए।
यस विषयमा ट्राफिक प्रहरी कार्यालयले प्रारम्भिक रूपमा दोषी देखिएका चार जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै अनुशासनको प्रक्रिया अघि बढाएको हो। प्रहरी प्रशासनले यस्ता घटनाले प्रहरीप्रतिको जनविश्वासमा आघात पुर्याउने भन्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक कदम चालिने बताएको छ।