Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्तिम ओभरको त्रुटिले फाइनलमा नेपाल पराजित, कुवेत तीन रनले विजयी - Brighter Network


चैत ३१,  हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल तीन रनले पराजित हुँदै उपविजेतामा सीमित भएको छ।


कुवेतले प्रस्तुत गरेको १७५ रनको चुनौती पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा १७१ रनमै अलआउट भयो।


नेपालका लागि शानदार प्रदर्शन गरेका बसिर अहमदले ४३ बलमा ८ चौका र ६ छक्कासहित ८० रनको आक्रामक पारी खेले। उनी अन्तिमतिर आउट भएपछि नेपालको जितको आशा समेत समाप्त भयो।


बसिरले १९औं ओभरको सुरुआतमा नो बलमा छक्का प्रहार गरे पनि त्यसपछि दुई डट बल खेले र त्यसै ओभरको तेस्रो बलमा आउट भए।


नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन, आशिफ शेखले ११ बलमा २१ रन बनाए। तर अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


कुवेतका अनुदीप चेन्थमाराले ३ विकेट, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान २–२ विकेट लिँदै नेपाललाई दबाबमा राखे।


यसअघि, टस जितेर पहिले ब्याटिङ गरेका कुवेती खेलाडीहरूले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको बलियो स्कोर खडा गरेका थिए। रविजा सन्दारुवानले ३६ बलमा ६३ रन बनाए, जसमा ४ छक्का र ६ चौका सामेल थिए।


अन्यतर्फ, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।


नेपालका बलरमध्ये सोमपाल कामी र नन्दन यादवले २–२ विकेट, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।


यसअघिका तीन खेलमा अपराजित रहेको नेपाल फाइनल खेलमा चुक्यो। नेपालले समूह चरणमा कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो।


अन्तिम ओभरमा बसिरको विकेटसँगै नेपाल जितबाट चुक्दा, फाइनलको दबाब र रणनीतिक त्रुटिले नेपाली टोलीको प्रदर्शनमा असर देखिएको विश्लेषकहरू बताउँछन्।

Top Post Ad

post bottom ads

Ads Bottom