सहकारीले गत चैत ३१ गतेसम्म नियमित रूपमा बजारबाट रकम संकलन गरिरहँदा सोही दिन एक सूचना टाँसी सहकारी बन्द रहेको जानकारी दिएको थियो। कार्यालयको भित्तामा टाँसिएको सूचनामा अध्यक्ष आकाश भट्राई सम्पर्कविहीन रहेको र पछिल्लो समय कर्मचारीको भरमा सहकारी चलाइएको उल्लेख छ।
सहकारी बन्द भएको जानकारी पाएपछि कार्यालय पुग्नेहरू मध्ये दीपनगरकी स्मृति पाण्डे पौडेल र देवीनगरकी तारा विश्वकर्मा जस्ता थुप्रै पीडितले वर्षौंदेखि खाइ नखाई जम्मा गरेको रकम गुम्ने त्रास व्यक्त गरेका छन्।
"छोराछोरीको नास्ता कटाएर जम्मा गरेको पैसा लिन आउँदा सहकारी बन्द देखेर मनभित्रबाट आँसु आयो," पीडित स्मृताले भनिन्।
त्यस्तै, तारा विश्वकर्माले सहकारीका कर्मचारीहरूले फोन नउठाएको भन्दै आक्रोश पोखिन्।
सहकारीका अध्यक्ष आकाश भट्राई, कोषाध्यक्ष बसन्त भट्राई सम्पर्कविहीन छन् भने उपाध्यक्ष रमेश भट्राई र सचिव लक्ष्मी अधिकारीले आफूलाई संस्थाको बारेमा केही जानकारी नरहेको प्रतिक्रिया दिएका छन्।
लुम्बिनी प्रदेश सहकारी रजिस्टार मधुकृष्ण पौडेलका अनुसार प्रदेशमा पछिल्ला वर्षहरूमा बदनियतसहित सहकारी खोल्ने प्रवृत्ति बढेको छ।
उनले सहकारी नियमनका लागि पर्याप्त जनशक्ति नभएको र ८४८ सहकारीको अनुगमनमा चुनौती रहेको बताए।
प्रदेशका सहकारी संघ अध्यक्ष कृष्ण नेपालले बहुउद्देश्यीय सहकारीको नाममा ठगी गर्ने प्रवृत्ति बढेको भन्दै सावधानी अपनाउन अपिल गरे।
जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले बाहिरी जिल्लामा दर्ता भएर शाखा खोलेका सहकारीहरूमाथि विशेष निगरानी आवश्यक रहेको बताए।
बुटवलमा यसअघि पनि सुप्रिम र शिखर सहकारीद्वारा ठगीको घटना सार्वजनिक भइसकेको अवस्थामा सनराईज सहकारीको ठगी प्रकरणले पुनः आम नागरिकलाई आर्थिक सुरक्षाको चिन्तामा पारेको छ।
सयौं पीडितले गरिबीमा पनि थोरै थोरै गरेर जम्मा गरेको रकम गुमाउने खतरा रहेको यो अवस्थामा सम्बन्धित सरकारी निकायले तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई राहत दिन गम्भीर पहल गर्न आवश्यक देखिएको छ।