Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दाउन्ने क्षेत्रमा राती सडक बन्द गरेर पहाड काट्ने काम सुरु, राती ६ घण्टा सवारी नचल्ने - Brighter Network


नवलपरासी, वैशाख १। नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सोमबारदेखि राती सडक बन्द गरेर निर्माण कार्य तीव्र पारिने भएको छ। आयोजनाले जानकारी गराएअनुसार अब १५ दिनसम्म प्रत्येक राती ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरी पहाड काट्ने काम गरिनेछ।


यसअघि चैत्र २७ गतेदेखि पाँच दिनसम्म दिउँसो चार घण्टाका लागि सडक बन्द गरिएको थियो। तर, वर्षाका कारण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेकोले रातीको समय रोजिएको हो। राती सडक बन्द गरी काम गर्दा यातायातमा कम असर पर्ने र कार्यलाई गति दिन सकिने विश्वास आयोजनाको छ।


दाउन्ने क्षेत्रमा पहाड खन्ने काममा ढिलाइ भएकाले त्यहाँको सडक अवस्था अत्यन्तै खराब छ। विशेषगरी पूर्वी भागमा हिलो र धुलोले यात्रा कठिन बनाएको छ। छिटफुट वर्षाले सडक हिलो भई सवारी चिप्लिने घटनासमेत भएका छन्, जसले गर्दा आवागमनमा थप समस्या उत्पन्न भएको छ।


दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण दैनिक लामो जाम लाग्ने गरेको छ। यात्रु तथा स्थानीयले निरन्तर सास्ती भोग्दै आएका छन्। आगामी वर्षायाममा समस्या झन् चर्किने सम्भावना देखिएकोले राती सडक बन्द गरेर कामलाई तीव्रता दिनुपर्ने अवस्था आएको हो।


जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालका अनुसार ठेकेदार कम्पनीको अनुरोधअनुसार रातीको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो। यस अवधिमा पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाट, ज्यामिरे तथा हकुई क्षेत्रमा सवारी साधन रोकिने व्यवस्था गरिएको छ।


नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त गतिमा अघि बढेको छ। तेस्रो पटक म्याद थपिएर आगामी साउनमा सकिने भए पनि हालसम्म भौतिक प्रगति ६१ प्रतिशत मात्र भएको आयोजना कार्यालयले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom