जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वैशाख २ गते राति मिर्मी बहुमुखी क्याम्पसको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फोडी डेलको किबोर्ड, माउस, पावर केबल, टेलिफोनका तार तथा सिलिङ पंखामा क्षति पुर्याइएको थियो।
त्यसैगरी, स्थानिय ज्ञानप्रसाद न्यौपानेले सञ्चालन गर्दै आएको स्केटिङ हाउसबाट तीन जोर स्केटिङ जुत्ता, REO जुस १५ बोतल, रेडबुल १५ वटा, फ्रुटी १५ वटा, र २५० एमएलका कोक र स्प्राइट गरी २२ वटा पेय पदार्थ चोरी भएको थियो।
यसबाहेक, नारायणप्रसाद अधिकारीको स्कुटर (ग.१प.८३९८) र मोटरसाइकल (लु.४७प.३४३८) मा तोडफोड गरिएको छ। प्रविन ढकालको अर्को मोटरसाइकल (ग.१४प.५९०) पनि मिर्मीबाट २ किमी उत्तरको आँधीमुहान भन्ने स्थानमा तोडफोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेका चार जना किशोरहरू स्याङ्जा र धादिङ जिल्लाका हुन्। उनीहरू १६ देखि १८ वर्ष उमेर समूहका छन्।
प्रहरीले क्याम्पस नजिकैको ओडारभित्र १ बोरा भित्र राखिएको डेल किबोर्ड, पावर केबल, स्केटिङ जुत्ता तीन जोर र REO जुस ९ वटा बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।