बाँके, कोहलपुर – बाँके जिल्लाको कोहलपुर नगरपालिका-७ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २२ वर्षीय सुमन थापाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय खड्ग भन्ने राजु कुमारलाई नियन्त्रणमा लिइएको छ।
चैत्र २१ गते राति १०:२० बजे कोहलपुर नगरपालिका वडा नं. ७ स्थित मन्दिर नजिकै हत्या भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, आपसी विवादकै कारण घटनास्थलमा भएको झगडापछि अभियुक्तले धारिलो हतियार प्रहार गरी सुमन थापाको हत्या गरेको बताइएको छ।
हत्या भएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमै मृत फेला परेका थापाको शवलाई पोस्टमार्टमका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ।
प्रहरी स्रोतका अनुसार, घटनास्थल नजिकै लुकेर बसेका अभियुक्त खड्ग भन्ने राजु कुमारलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि हत्या व्यक्तिगत विवादका कारण भएको हुनसक्छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको छ।
बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिनेछ।