फुङलिङ सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको दर्शनका लागि गइरहेको मे १ ज ३०११ नम्बरको बोलेरो गाडीमा करेन्ट सहितको विद्युतको तार खस्दा गाडीमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घटनामा सवारी चालक दुर्गा भट्टराई (फुङलिङ नगरपालिका–१०), १६ वर्षीया आध्या आचार्य (ललितपुर), ६९ वर्षीया सरिता पौडेल (झापा) र ७० वर्षीय विनोद पौडेल (झापा) को मृत्यु भएको हो।
गाडीमा रहेका अन्य दुई जना यात्रुहरू ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन्। घाइतेहरूको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।
मृतक आध्या आचार्य घाइते सविना आचार्यकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका आमा-बुबा भएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ।
उक्त गम्भीर दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।