Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दाइजो र सन्तानका लागि ठगी विवाह गर्ने श्रीमान र प्रेमिका पक्राउ - Brighter Network


चैत २७ गते, सप्तरी — बहुविवाह, दाइजो ठगी र पारिवारिक हिंसाको आरोपमा सप्तरी प्रहरीले एक पुरुष र उनकी प्रेमिकालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. २ निवासी ३९ वर्षीय शैलेश देव र सुनसरीको इटहरी नगरपालिका–५ मा रहेको ह्यापील्याण्ड चाइल्ड केयर सेन्टरकी सञ्चालिका ममता कुमारी चौधरी रहेका छन्।


प्रहरीका अनुसार शैलेश देवले ममता चौधरीसँग प्रेम सम्बन्ध राख्दै २०७१ सालमा विवाह गरेका थिए। सो विवाह २०७३ सालमा विराटनगरमा दर्ता गराइएको थियो। तर दुई वर्षसम्म सन्तान नहुँदा, ममताको सहमतिमा शैलेशले २०७३ जेठमा प्रिती देवसँग पुनः विवाह गरेका थिए। दोस्रो विवाह २०७६ माघमा राजविराज–२ स्थित वडामा दर्ता गराइएको थियो।


प्रिती देवले आफ्ना श्रीमान्ले बहुविवाह गरेको, आफूलाई दाइजोका लागि प्रयोग गरी सन्तान जन्माएपछि बेवास्ता गरेको, र मानसिक हिंसा गर्दै आएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरीले देव र चौधरीलाई चैत १९ गते इटहरीस्थित चाइल्ड केयर सेन्टरबाट पक्राउ गरेको हो।


प्रहरीका अनुसार कानुनी रुपमा चौधरी पहिलो पत्नी देखिए पनि व्यवहारतः देवको प्रितीसँग पछिल्लो वैवाहिक सम्बन्ध थियो। चौधरीले पनि आफ्नै सहमतिमा सन्तानको लागि दोस्रो विवाह गराएको स्वीकार गरेकी छन्। प्रितीसँग २०७६ मा र चौधरीसँग २०७८ मा जन्मिएका एक–एक छोरा छन्।


प्रिती देवका परिवारका अनुसार शैलेशले विवाह गरेर आर्थिक र भावनात्मक रुपमा छली गरेको आरोप लागेका छन्। उनका अनुसार प्रितीको विवाहमा झण्डै २० लाख रुपैयाँ बराबरको दाइजो दिइएको थियो, जसमा नगद, सुन, मोटरसाइकल र अन्य सरसामान समावेश थिए। प्रितीकी आमा रिता देवले भनिन्, “छोरीलाई माइतीमै राख्ने हो भने किन विवाह गरेका थिए? अर्की पत्नी र छोरालाई इटहरीमा सुखले राख्ने, तर हाम्रो छोरी र नातिलाई खान समेत नदिने—यस्तो अन्याय सहन सकिँदैन।”


मानवअधिकारकर्मी रत्ना तामाङले दाइजो र सन्तानकै लागि ठगीपूर्वक गरिएको विवाहप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेकी छन्।


सप्तरी प्रहरीले जिल्ला अदालतबाट दुई पटक पाँच–पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

 


Ads Bottom