संखुवासभा, वैशाख १। जिल्लाको खाँदबारी नगरपालिका–९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्। सोमबार साँझ साढे ४ बजेतिर आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतका अनुसार चट्याङ लागेर घाइते हुनेहरूमा कोपिला श्रेष्ठ, उनका १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ रहेका छन्।
घाइते चारै जनाको उपचार जिल्ला अस्पताल संखुवासभामा भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनीहरू सबैको अवस्था खतरामुक्त रहेको छ।