प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, खनाललाई बोलाई योजनाबद्ध रूपमा रकम लुटी फरार भएका व्यक्तिहरूमध्ये १८ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये केहीले काठमाडौंमा डेरा गरेर बस्दै आएका थिए भने केही अन्य जिल्ला र पालिकाबाट आएका थिए।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–लोलाङ बस्ने २३ वर्षीय राज पराजुली, रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी–४ बस्ने २३ वर्षीय प्रभास केसी उर्फ हरिराम खत्री, र त्यही गाउँका २८ वर्षीय सार्की माझी रहेका छन्।
यस्तै, खाँडादेवी–८ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने २० वर्षीय राजेश भण्डारी, सोलुखुम्बु लिखु पिके नगरपालिका–९ घर भई हाल काठमाडौं–३२ बस्ने २६ वर्षीय कुशल बस्नेत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–५ घर भई हाल नयाँबानेश्वर बस्ने ३५ वर्षीय रञ्जित लामा समेत पक्राउ परेका छन्।
त्यसैगरी, तार्केश्वर लोलाङ बस्ने २१ वर्षीय सुयोज लामा, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय उत्तम मगर, २८ वर्षीय राजु मगर, २६ वर्षीय टिका बहादुर मगर, ३४ वर्षीय रमेश बहादुर मगर, २९ वर्षीय लब बहादुर मगर लगायतका युवाहरू पनि लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूविरुद्ध लुटपाट तथा संगठित अपराध अन्तर्गत मुद्दा अगाडि बढाएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।