Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीनकुने घटनामा संलग्न आरोपमा थप ६ जना पक्राउ - Brighter Network



काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा भएको तोडफोड, आगजनी र आपराधिक उपद्रवको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। चैत १५ गते बिहान नवराज सुवेदीको संयोजनमा र दुर्गा प्रसाईको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शनको पूर्वस्वीकृति लिई आयोजना गरिएको विरोध कार्यक्रमका क्रममा भीडलाई उत्तेजित पार्दै संघीय संसद भवन वरिपरिको निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले ढु‌ङ्गा, लाठी, फलामका रड र घरेलु हतियार प्रयोग गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षाकर्मीमाथि आक्रमण गरेको, प्रहरीको ज्यान लिने उद्देश्यले गाडी प्रयोग गरिएको र सुरक्षाकर्मीहरूको हातहतियार खोस्ने प्रयाससमेत भएको प्रहरीको भनाइ छ।

सो क्रममा सर्वसाधारणको निजी घर, संचार गृह, राजनीतिक दलहरूको कार्यालय, नेताको निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारीक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण केन्द्र, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी पर्खालमा समेत तोडफोड र आगजनी गरिएको थियो। त्यस्तै, सडकमा गुडिरहेका निजी तथा सरकारी सवारीसाधनमा समेत आगजनी गरी आतङ्क फैलाइएको आरोप लगाइएको छ। घटनामा संलग्न रही आपराधिक उपद्रव, संगठित अपराध, लुटपाट तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा प्रहरीले ६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमा सर्लाहीको कबिलासी–६ स्थायी ठेगाना भई हाल ललितपुरको टिकाथली बसोबास गर्ने २२ वर्षीय अमित शाह, सुनसरी धरान स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाको बारबर्दिया–२ जोहिगाउँका ३४ वर्षीय हेमराज थारु, धादिङको सिद्धलेक गाउँपालिका–४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१५ की ३० वर्षीया अनिता कुँवर (ऐनी), तथा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ३० वर्षीय कुमार तामाङ रहेका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom