पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का सोयल आलम र नौसाद अन्सारी रहेका छन्। उनीहरूलाई चैत २६ गते विराटनगरको अस्पताल चोकबाट कालो रंगको होण्डा सिबी साइन मोटरसाइकल चोरेर भाग्ने क्रममा प्रहरीले समातेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद जोशीले जानकारी दिनुभयो।
पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा थप अनुसन्धान गर्दा उनीहरूले चोरी गरेका पाँच वटा मोटरसाइकल र स्कुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मोरङमा ६० वटा मोटरसाइकल चोरी भएका थिए। केही व्यक्तिहरूको पक्राउपछि चोरीका घटनाहरू घटेको भए पनि चैत महिनामा मात्र ११ वटा मोटरसाइकल चोरी भएपछि प्रहरी सक्रिय बनेको हो।
अनुसन्धानका क्रममा चोरी गर्ने गिरोहले विराटनगरका भिडभाड हुने स्थानबाट पुराना मोटरसाइकल चोरी गरेर भारतको जोगबनीसम्म पुर्याई सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। हाल गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको जनाइएको छ।