उहाँले भन्नुभयो, “म दुम्किवास र दाउन्ने खण्डको बीचमा छु, रातिदेखि एक गाडी पनि अघि बढ्न सकेको छैन। डोजर प्रयोग नगरी बाटो खुलाउने सम्भावना छैन, गाडीहरू चिप्लिएर रोकिएका छन्।”
धुलो जमेको सडकमा पानी परेपछि सतह चिप्लिएर गाडी चलाउन असहज भएको हो। चैत २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक विस्तारको काम गरिँदै आएको थियो। तर त्यसै रातिदेखि परेको वर्षाले सडक अझ बिग्रिएको छ।
सडक अवरुद्ध भएपछि दाउन्ने पश्चिमतर्फ भन्दा पूर्वतर्फ अत्यधिक ट्राफिक जाम भएको छ। दाउन्नेदेखि चोरमारा सम्म झण्डै २० किलोमिटर लामो जाम रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो।
“अहिल्यै यस्तो अवस्था छ भने, भारी वर्षा भएको बेला त स्थिति कति गम्भीर होला? यात्रुहरू निकै दुःखमा छन्,” उहाँले भन्नुभयो।
जिल्ला ट्राफिक प्रहरी प्रमुख जनकराज बन्जाराले २४ घण्टा प्रहरी खटाएको भए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो। “लोड भएका ठूला गाडीहरू बीच बाटोमै फसेका छन्, जसले गर्दा साना सवारी समेत चल्न सकेका छैनन्,” बन्जाराले बताउनुभयो।