डोटी, वैशाख १० — डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज बिहान भएको मिनिट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको हो।
प्रहरीका अनुसार धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामान बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनिट्रक जोरायल–१ स्थित गोल्डेनमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
मृत्यु हुनेमा ट्रक चालक अन्दाजी ३२–३३ वर्षका अर्जुन धामी रहेका छन् भने अन्य दुई मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।